नेपाली महिला क्रिकेट टोलीले मलेशियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जित्न सफल भएको छ। आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराउँदै शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो।
मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औँ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा रुवी पोद्दारले २६ रन र पुजा महतोले २३ रनको योगदान दिइन्। बलिङतर्फ मलेशियाका नुर आल्या बत्रिसिया, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक–एक विकेट लिइन्।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो। मलेशियाका विनिफ्रेड एनी दुराईसिंगमले ४० रन, माहिरा इज्जतीले १९ रन र ऐना हामिजाह हाशिमले १५ रन योगदान दिइन्।
नेपालका लागि राजमती ऐरी र कविता कुँवरले समान तीन–तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने रचना कुमारी चौधरीले एक विकेट झारिन्।
यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा छ विकेटले जितेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले हार्दा चौथो खेलमा पुनः छ विकेटले विजयी बनेको थियो।
नेपाली महिला टोली अब आउँदो जनवरीमा घरेलु मैदानमै आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि तयारीमा जुट्नेछ।
