मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

काभ्रेको सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमति पत्र छपाइ सुरु

काभ्रेपलाञ्चोकको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बटम थिचेर कार्यक्रमको शुभारम्भ गरे।

पहिलो चरणमा १२ लाख लाइसेन्स छापिनेछ, जसको लागि २७ करोड रुपैयाँ बजेट उपलब्ध छ। सुरुमा दैनिक ५ सय प्रति छपाइ हुने र ६ महिनाभित्र सम्पूर्ण छपाइ पूरा गर्ने लक्ष्य राखिएको छ।

कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार केन्द्रमा अहिले नागरिकता, हुलाक टिकट, लालपूर्जा, भिसा र अन्त:शुल्क स्टिकर पनि छाप्न सकिने भएको छ। हालसम्म केन्द्रमा करिब ३ अर्ब रुपैयाँ लगानी भइसकेको छ।

मन्त्री खरेलले कानुनी र प्रशासनिक कठिनाइबीच पनि छपाइ सुरु भएको बताए। उनले भने, “वर्षौंदेखि धुलाम्मे मेसिनहरू सफा गरेर सरकारी प्रेसबाटै लाइसेन्स छाप्न सुरु गरेका छौं।”

उनका अनुसार यसबाट देशको २८ लाख लाइसेन्स छाप्ने आवश्यकता पूरा गर्न सहयोग हुनेछ र विदेशी कम्पनीलाई ठेक्का दिनु नपर्ने स्थिति बन्नेछ।

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले पनि छपाइ सुरु भएपछि सेवाग्राहीलाई राहत मिल्ने बताए।

यसैबीच, केन्द्रमा रहेको करिब ५० करोड मूल्यको अन्य मेशिन अझै प्रयोगमा आउन बाँकी रहेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए।