अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गर्दा अस्वीकार भएपछि दुई देशबीच तनाव बढेको एक रिपोर्टले दाबी गरेको छ।
न्युयोर्क टाइम्सका अनुसार, ट्रम्पले जुन १७ मा मोदीसँग फोनमार्फत भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा नोबेल समर्थन माग्दा मोदीले त्यसलाई अस्वीकृत गर्नुभएको थियो। तर, ह्वाइट हाउसका प्रवक्ताले ट्रम्पले मोदीलाई सम्पर्क गरेको दाबी अस्वीकार गरेका छन्।
भारतको आधिकारिक अडान अनुसार भारत–पाकिस्तान युद्धविराम अमेरिकी संलग्नताविना दुवै देशको सहमतिमा भएको थियो। रिपोर्टले ट्रम्पको नोबेल प्राप्तिका लागि सहयोग नगर्ने मोदीको निर्णयले सम्बन्धमा तनाव निम्त्याएको उल्लेख गरेको छ।
फोनवार्ता पछि अमेरिकाले भारतमाथि २५ प्रतिशत पारस्परिक भन्सार शुल्क र रुसबाट छुटमा तेल खरिदमा थप २५ प्रतिशत जरिवाना घोषणा गरेको थियो।
न्युयोर्क टाइम्सका लागि तयार गरिएको रिपोर्ट वाशिङ्टन र नयाँदिल्लीका १० भन्दा बढी व्यक्तिसँग गोप्य अन्तर्वार्तामा आधारित रहेको छ।
