मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रास्वपा र विवेकशील साझाबीच एकता, पार्टी नाम र चुनाव चिन्ह जस्ताको तस्तै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत एकता घोषणा सार्वजनिक गरिएको हो।

एकता दस्तावेजमा रास्वपातर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र नेता डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझातर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

नाम र चुनाव चिन्हमा निरन्तरता
दुवै दलबीचको सहमतिअनुसार एकतापछि पनि पार्टीको नाम ‘रास्वपा’ नै रहने र चुनाव चिह्न ‘घण्टी’ नै कायम रहनेछ। विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्मका लागि ‘संघीय नेतृत्व मञ्च’ मा समावेश गरिने व्यवस्था पनि सहमतिमा समावेश छ। मञ्च सदस्यहरूको हैसियत केन्द्रीय सदस्य सरह रहने कार्यविधि तय गरिएको छ।

उज्वल थापाप्रति सम्मान र दस्तावेजीकरण
एकता दस्तावेजमा वैकल्पिक राजनीतिका अभियन्ता स्व. उज्वल थापा तथा ‘विवेकशील अभियान’ को योगदानलाई विधिवत् दस्तावेजीकरण गरी मान्यता दिने उल्लेख छ।

केही नेताको असहमति
यद्यपि विवेकशील साझाका नेता मिलन पाण्डे भने एकता प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू रास्वपासँगको एकतामा सहभागी नरहने जानकारी गराएका छन्।

एकता घोषणासँगै अब वैकल्पिक राजनीतिको दायरा बढ्ने र संगठन विस्तारमा दुवै दल एकसाथ अघि बढ्ने अपेक्षा गरिएको छ।