आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस अवधिमा ७ नयाँ दल दर्ता भएका छन् भने ७ दल खारेज गरिएको छ।
खारेज भएका दलमध्ये एक अदालतको आदेशका आधारमा र बाँकी ६ दल सम्बन्धित पदाधिकारीहरूले स्वेच्छाले दिएको निवेदनका आधारमा खारेज गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार हाल २८ राजनीतिक दल ‘पाइपलाइन’ मा छन्—अर्थात् दर्ताका लागि आवश्यक कागजात पेश भइसकेका तर रुजु र सनाखत प्रक्रियामा रहेका दल।
भट्टराईले भने, “निर्वाचन घोषणा हुँदा १२२ दल थिए। यो बीचमा ७ खारेज भए र ७ नयाँ थपिए। अहिले पनि दर्ता भएका दलको कुल संख्या १२२ नै छ। २८ दल भने दर्ता प्रक्रियामा छन्।”
आयोगले दर्ता प्रक्रियामा रहेका दलका कागजात कानुनअनुसार मागेर रुजु गर्ने, पदाधिकारीको सनाखत गर्ने र सबै प्रक्रिया पूरा भएपछि मात्र दर्ता प्रमाणपत्र जारी गर्ने जनाएको छ।
भट्टराईले बताए, “कागजात अध्ययन, सनाखत र आवश्यक प्रमाण बुझेर मात्र आयोगले अन्तिम निर्णय गर्छ। कानुनअनुसार सबै प्रक्रियाहरू कडाइका साथ चलिरहेका छन्।”
हाल दर्ता वा पाइपलाइनमा रहेका राजनीतिक दलमध्ये कुन जेनजी आन्दोलनसँग सम्बन्धित हुन् वा अन्य समूहका हुन् भन्ने छुट्याउने काम आयोगले नगरेको प्रवक्ता भट्टराईले स्पष्ट पारे।
