बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई इनर्जी ड्रिङ्क्स किन्नबाट रोक्ने योजना बनाएको छ। बीबीसीका अनुसार सरकारले पसल, रेस्टुरेन्ट, क्याफे, भेन्डिङ मेशिन र अनलाइनमार्फत रेड बुल, मोन्स्टर, प्राइम जस्ता पेय पदार्थ किन्नबाट रोक्ने कानूनी व्यवस्था ल्याउने तयारी गरेको छ।
धेरैजसो सुपरमार्केटहरूले पहिले नै स्वैच्छिक प्रतिबन्ध लागू गरिसकेका छन्, तर अनुमानअनुसार बेलायतका एक तिहाइ बालबालिकाले हरेक हप्ता इनर्जी ड्रिङ्क्स सेवन गर्ने गरेका छन्।
चिकित्सकहरूले चेतावनी दिएका छन् कि केही लोकप्रिय इनर्जी ड्रिङ्क्समा दुई कप कफीभन्दा बढी क्याफिन हुने गरेको छ। अत्यधिक क्याफिन सेवनले टाउको दुख्ने, निद्रा नलाग्ने, मुटुको धड्कन छिटो हुने, हृदयमा असामान्य लय र हृदयघात निम्त्याउन सक्छ। दुर्लभ अवस्थामा अत्यधिक क्याफिन सेवनसँग सम्बन्धित केही मृत्युका घटनाहरू पनि भएका छन्।
स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव वेस स्ट्रिटिङका अनुसार अभिभावक, शिक्षक र बालबालिकाहरूले सरकारले यसबारे कडाइका साथ कदम चाल्न आह्वान गरेका छन्। उनले भनेका छन् कि इनर्जी ड्रिङ्क्समा प्रतिबन्ध लागु हुने कुनै आधिकारिक मिति अझै तय नभएको छ, तर यो कदम संसद्को अन्त्यभन्दा अघि नै लागू हुने अपेक्षा गरिएको छ।
