मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

विश्व टिम टेबल टेनिसको दक्षिण एशियाली छनोट प्रतियोगिता भोलिदेखि काठमाडौंमा शुरू

विश्व टिम टेबलटेनिस च्याम्पियनशिप २०२६ का लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भोलिदेखि काठमाडौंमा शुरू हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ। प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र बंगलादेशका टोलीहरू सहभागी हुनेछन्।

नेपालसहित पाँच देशको सहभागिता

भारतबाट १० खेलाडी सहभागिता जनाउँदैछन् भने नेपाल, श्रीलङ्का, माल्दिभ्स र बंगलादेशबाट ८–८ खेलाडी सहभागी हुनेछन्।

नेपालबाट पुरुष र महिलातर्फ ४–४ खेलाडी प्रतिस्पर्धामा उत्रने छन्। नेपाली महिला खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेल रहेका छन्। पुरुषतर्फ संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षक टिम

नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी मोहनदास बासुकलाले सम्हाल्ने छन्। सहायक प्रशिक्षकमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन्।

छनोटको प्रक्रिया

राउन्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगितामा शीर्ष स्थान प्राप्त गर्ने पुरुष र महिला टोलीले सन् २०२६ सेप्टेम्बरमा इंग्ल्यान्डमा आयोजना हुने विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि छनोट हुनेछन्।