वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमै हैजाको सङ्क्रमण फैलिएको छ । तर हैजाको मूल स्रोत भने अहिलेसम्म पत्ता लागेको छैन ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार गएकाे शुक्रबारदेखि विभिन्न वडामा हैजाका बिरामी देखिँदै आएका छन् । आइतवार बेलुकीसम्म ७१ जनामा सङ्क्रमण पुष्टि भएकोमा सोमबार बिहान थप ८ जना नयाँ बिरामी भेटिएसँगै कुल सङ्ख्या ७९ पुगेको उहाँले जानकारी दिनुभयो ।
“हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,” ठाकुरले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधि आइतवारदेखि यहाँका पानीको परीक्षणलगायतका काम गर्दै हुनुहुन्छ । सम्भवत आजसम्म स्रोतको पहिचान हुने आशा छ ।”
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले हैजा उपचारका लागि अस्पतालमा शय्या र जनशक्ति दुवै अभाव रहेको बताए । हालसम्म अस्पतालमा ३० जना हैजा संक्रमित भर्ना भएका छन् ।
“हैजासँगै अन्य किसिमका बिरामीको चाप थेग्नै नसकिने अवस्थामा छ,” डा. सिंहले गुनासो गर्दै भने, “सर्पदंश, ज्वरो, प्यारालाइसिसलगायतका बिरामी धेरै छन् तर जनशक्ति र सामग्री अभावका कारण व्यवस्थापन गर्न कठिन भइरहेको छ ।”
उनका अनुसार अहिलेसम्म कागजी रूपमा सहयोग गर्ने आश्वासन आए पनि आवश्यक जनशक्ति तथा औषधोपचार सामग्री भने अस्पतालमा नपुगेको छ ।
नारायणी अस्पतालमा २६ जना, तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगञ्ज हेल्थ केयर, अली अर्थाे अस्ताल र मङ्गलम प्याथोलोजीमा २/२ जना गरी ८ जना संक्रमित फेला परेका छन् । सोमबार बिहान थपिएका ८ संक्रमित कुन अस्पतालमा परीक्षण गरिएको हो भन्ने विवरण खुल्न बाँकी छ ।
डा. सिंहले WHO को टोलीले पानी परीक्षणलगायतका गतिविधि गरिरहेको र सम्भवत आजै हैजाको स्रोतबारे प्रारम्भिक प्रतिवेदन आउन सक्ने जानकारी दिए ।