मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

शिक्षामा ठूलो धनराशी बाहिरिँदै, सरकार मौन

देशभित्र विश्वविद्यालय र शैक्षिक संस्था प्रशस्त भए पनि गुणस्तरीय शिक्षाको कमीका कारण ठूलो मात्रामा धनराशी विदेशिने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणले यस कुरालाई फेरि उजागर गरेको छ।

बैंकका अनुसार, शिक्षाका लागि मात्र गत वर्ष एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो वर्ष यो रकम एक खर्ब २५ अर्ब १३ करोड थियो। यसले प्रत्येक वर्ष अरबौं रुपैयाँ वृद्धिसहित देशको पूँजी बाहिरिनु, सरकारले शिक्षा क्षेत्रमा सुधार गर्न नसकेको प्रमाण हो।

शिक्षा मात्र होइन, भ्रमण खर्च पनि तीव्र गतिमा बढ्दै गएको छ। गत वर्ष भ्रमण खर्च १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम एक खर्ब ८९ अर्ब ४३ करोड थियो। यस्तो खर्चले देशको सेवा आयमा ठूलो घाटा थपेको छ।

समिक्षा वर्षमा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा गयो, जुन अघिल्लो वर्षको ५५ अर्ब ८६ करोड घाटाभन्दा अझै बढी हो। यद्यपि भ्रमण आय भने ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड पुगेको छ, तर यसले घाटा पूर्ति गर्न सकेको छैन।

विशेषज्ञहरू भन्छन्, “शिक्षा र पर्यटन क्षेत्रमा भित्रिएकोभन्दा बाहिरिने रकम गुणात्मक रूपमा धेरै हुनु नै सरकारको विफलता हो।” नेपालमा शिक्षाको गुणस्तर र रोजगारीको ग्यारेन्टी नभएकै कारण विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्। तर यसबारे दीर्घकालीन रणनीति बनाउन सरकारले कुनै ठोस कदम चालेको देखिँदैन।