अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृङ्खला अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजय बेहोरेको छ।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। नेपालतर्फ आशिफ शेखले ५३ रनसहित अर्धशतक प्रहार गरे भने कप्तान रोहितकुमार पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए।
बलिङतर्फ मेलबर्नका डग वारेन र अस्टिन एन्लेजाकले समान दुई–दुई विकेट लिए भने आर्यन शर्मा र क्रिस होवेले समान एक–एक विकेट झारे।
यसअघि डार्विनमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो। उनीतर्फ ब्लेक म्याकडोनाल्डले ७४ रन र थोमस रोजर्सले ६५ रनको योगदान गरे। नेपालतर्फ सन्दीप लामिछानेले तीन विकेट, भने सोमपाल कामी र शाहब आलमले समान एक–एक विकेट लिएका थिए।
यो हारसँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो पटक पराजित भएको छ। यसअघि नेपाल बङ्गलादेश ‘ए’सँग २९ रनले र आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।
शृङ्खलामा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। प्रतियोगिताअन्तर्गत नेपालले अब भोली होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग भिड्नेछ।
टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेलमार्फत नेपालले आगामी आईसीसी टी–२० विश्वकप छनोटका लागि तयारी गरिरहेको छ।