उत्तरी चीनमा आइतवारदेखि परेको अविरल वर्षा र त्यसपछि आएको भीषण बाढीका कारण हालसम्म ३० जनाको ज्यान गएको छ भने हजारौं मानिस प्रभावित भएका छन्।
राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ। बाढीका कारण पुलहरू भत्किएका छन्, सडकहरू अवरुद्ध भएका छन्, र सयभन्दा बढी गाउँहरूमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
चीनका राष्ट्रपति सी जिनपिङले बाढीबाट प्रभावित क्षेत्रहरूमा हराइरहेका तथा फसेका मानिसहरूको खोजी र उद्धारका लागि “पूर्ण प्रयास” गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभएको छ।
चीन सरकारद्वारा उच्च सतर्कता जारी गरिएको छ। राहत, उद्धार, पुनःस्थापना र सुरक्षित आवास व्यवस्थालाई तत्काल प्राथमिकतामा राखेर काम गरिने सरकारी अधिकारीहरूले बताएका छन्।
मौसम विज्ञहरूका अनुसार आगामी दिनहरूमा अझै भारी वर्षा हुने पूर्वानुमान गरिएकोले थप क्षतिको सम्भावना कायमै रहेको जनाइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक अवस्थामा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।