ललितपुर महानगरपालिका–हरिसिद्धीस्थित एक इट्टाभट्टामा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
हरिसिद्धीमा रहेको होसना इट्टाभट्टाको पर्खाल अचानक भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
घटनामा अन्य चार जना महिला घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्।
घाइतेहरूलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
