मंगलबार जारी विज्ञप्तिमा मुभमेन्टका प्रवक्ता विजय शाहले मन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग ‘राष्ट्रघाती र गैरकानुनी’ विद्युत् खरिद सम्झौता गरिएको आरोप लगाएका छन्। उक्त सम्झौताका कारण नेपाललाई करिब ४३ करोड रुपैयाँ बराबर नोक्सान हुने बताइएको छ।
विज्ञप्तिमा उल्लेख अनुसार, यो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृतिबिना गरिएको र यसले देशको आर्थिक स्वाधीनता र राष्ट्रिय स्वार्थमाथि प्रहार गरेको दाबी गरिएको छ। मुभमेन्टले यो कार्यलाई “सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री” भनेको छ।
संगठनले माग गरेको छ,
ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न,
प्राधिकरणका एमडी मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्न,
र विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्न।
जेनजी मुभमेन्ट नेपालले राष्ट्रघाती सम्झौतामा संलग्न सबैलाई कानुनी कारबाही गरी राज्यको सम्पत्ति फिर्ता गराउने प्रक्रिया तुरुन्त सुरु गर्नुपर्ने माग समेत गरेको छ।
