हिजो बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से मंगलबार १९.८९ अंकले घटेर २,७४१.९७ विन्दुमा झरेको छ।
आज सबै समूहका शेयरमा गिरावट देखिएको छ। विशेषगरी व्यापार समूहको शेयर झन्डै २ प्रतिशतले घटेको छ। कारोबार भएका ३५२ कम्पनीमध्ये २२१ कम्पनीको शेयर घटेको छ भने २९ कम्पनीको मात्रै शेयर बढेको छ।
उन्नति सहकार्य लघुवित्त र दोर्दीखोला जलविद्युत् कम्पनीको शेयर ७ प्रतिशतभन्दा बढीले घटेको छ। त्यस्तै, बजार ओरालो लागेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ सय २३ कम्पनीका १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ४३ करोड रुपैयाँमा मात्र किनबेच भएको छ।
