काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लुक्ला नजिकैको फेरिचे (फुर्चे) हेलिप्याडमा दुई वटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ८:१५ बजे अवतरण गर्ने क्रममा फिसटेल एयर र एयर डाइनास्टीका हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ठोक्किएपछि दुवै हेलिकोप्टर पल्टिएका थिए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा मानवीय क्षति भएको पुष्टि गरेका छन्। दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र अर्का एक जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनालगत्तै लुक्लाबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको विशेष टोली तथा नजिकैको अस्थायी प्रहरी चौकीबाट सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालित भएका थिए।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकोप्टर प्रयोग गरिएको छ। घटनास्थलमा उद्धार कार्य तीव्र पारिएको जनाइएको छ।
पर्यटकीय सिजनमा हेलिकोप्टर उडानको चाप रहने खुम्बु क्षेत्रमा भएको यस दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।