सुडानको एल–फासर शहरमा भएका अत्याचारहरू युद्ध अपराध र मानवताविरुद्धका अपराध हुन सक्ने संकेत पाएको अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले जनाएको छ।
अदालतका अभियोजकको कार्यालय (Office of the Prosecutor – OTP) ले एल–फासरमा भएका सामूहिक हत्या, बलात्कार र अन्य अमानवीय व्यवहारहरू सम्बन्धी विवरणका बारेमा गहिरो चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सुडानी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (RSF) ले गएको अक्टोबर २६ तारिखमा १८ महिनासम्मको घेराबन्दी र लगातार बमबारीपछि एल–फासरमा नियन्त्रण जमाएको हो।
दीर्घकालीन युद्धका कारण स्थानीय बासिन्दाहरू दैनिक जीवनयापन गर्न असमर्थ बनेका छन्। त्यहाँ अहिले भोकमरी, पानी अभाव र स्वास्थ्य संकट गहिरिँदो अवस्थामा पुगेको बताइन्छ।
एल–फासर, सुडानको पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम शहर मानिन्थ्यो। त्यस क्षेत्रमा RSF को नियन्त्रण विस्तारसँगै स्थिति थप जटिल बनेको छ।
