प्रतिनिधि सभा विघटन भएपछि ३० वटा विधेयक स्वतः निष्क्रिय भएका छन् ।
प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार, निष्क्रिय भएका विधेयकमध्ये २१ वटा सरकारी, २ वटा गैरसरकारी र ७ वटा राष्ट्रिय सभाबाट उत्पत्ति भएका विधेयक छन् ।
२०७९ मंसिर ४ गते सम्पन्न आमनिर्वाचनपछि बनेको प्रतिनिधि सभामा उत्पत्ति भएका २३ वटा विधेयक र राष्ट्रिय सभाबाट उत्पत्ति भई प्रतिनिधि सभामा पुगेका ७ वटा विधेयक यसअन्तर्गत पर्दछन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभा विघटन भएपछि त्यहाँ विचाराधीन वा पारित भई राष्ट्रिय सभामा पुगेका विधेयक पनि स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको स्पष्ट गर्नुभयो ।
संविधानको धारा १११ को उपधारा (१०) मा उल्लेख छ — “कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ।”
