मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

६० किलो सुन तस्करी प्रकरण : जीवन चलाउनेसहित १७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहँदै फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ।

बर्दिया गेरुवा गाउँपालिका–४ का स्थायी बासिन्दा जीवन चलाउनेसहितका विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

अनुसन्धान प्रतिवेदन अनुसार फरार रहेका चलाउनेको नाममा देशभर ३२ ठाउँमा जग्गा भेटिएको छ। ती जग्गाहरूको कुल मूल्य करिब १५ करोड ३० लाख रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।

काठमाडौंमा मात्रै चलाउनेको पाँच ठाउँमा जग्गा भेटिएको छ, जसमा बलम्बु, मुलपानी र गोठाटार क्षेत्रका कित्ताहरू समावेश छन्। बलम्बुमा कित्ता नम्बर १४५१ को ०–२–०–२ क्षेत्रफल र कित्ता नम्बर १४६१ को ५९.६२ क्षेत्रफलको जग्गा रहेको विवरण अभियोगपत्रमा उल्लेख छ।

त्यस्तै, काभ्रेको खनालथोकमा नौ ठाउँ, रौतहटमा पाँच ठाउँ र झापाको चन्द्रगढीमा मात्रै १३ ठाउँमा चलाउनेका नाममा जग्गा भेटिएको छ। यी सबै जग्गा राज्यको नाममा जफत गर्न मागदाबी गरिएको छ।

चलाउनेले विभिन्न बैंकहरूमा ती जग्गा धितो राखी १ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएका थिए। कर्जा असुल नहुँदा बैंकहरूले जग्गा लिलामी प्रक्रिया अगाडि बढाएका छन्।

हिमालयन बैंकको विवरणअनुसार, चलाउनेले सन् २०२२ सेप्टेम्बर २२ देखि डिसेम्बर १६ सम्मको बीचमा मात्र ३ करोड ५२ लाख रुपैयाँको कारोबार गरेका थिए।

ठमेलस्थित भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने, र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको छ। पक्राउ परेकामध्ये रुक्मणी सुब्बा मात्र ५ लाख धरौटीमा रिहा भएकी छन्।

चलाउने सञ्चालक रहेको मस्टा ग्रुप प्रालिको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ। सो कम्पनीको मौज्दात ६ करोड ६४ लाख रुपैयाँ, मस्टाको नाममा जग्गा ३० करोड ९८ लाख रुपैयाँ र अन्य सम्पत्ति २ करोड बराबरको रहेको विवरण अभियोगपत्रमा उल्लेख छ।

समग्रमा, ६० किलो सुनसहित करिब २ अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनेसहितका विरुद्ध दायर भएको हो।

फरार जीवन चलाउनेविरुद्ध इन्टरपोल नोटिस जारी गरिएको छ र उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय स्तरमै खोजी कार्य भइरहेको छ।