मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्रा पदच्युत

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाउँदै मन्त्रिपरिषद् विघटन गरेको छ । अदालतको यो कदमपछि पेतोङतार्न सन् २००८ पछि अदालतको आदेशमा पद गुमाउने पाँचौं थाई प्रधानमन्त्री बनेकी छिन्।

कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग भएको फोनवार्ता चुहावटपछि उत्पन्न विवादका कारण उनी गत जुलाईमै निलम्बित भएकी थिइन्। उक्त वार्तामा उनले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गर्दै हुन सेनलाई ‘काका’ भनेको कुरा सार्वजनिक भएपछि नागरिकस्तरमा तीव्र असन्तोष पैदा भएको थियो।

३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी पेतोङतार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री मात्र नभई दोस्रो महिला प्रधानमन्त्री समेत बनेकी थिइन्। उनी थाई अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन्। सन् २०२१ मा फेउ थाई पार्टीमा प्रवेश गरेकी पेतोङतार्न २०२३ मा पार्टी नेतृ बनेकी थिइन्।

गएको वर्ष थाई संसद्ले उनलाई तत्कालीन प्रधानमन्त्री स्रेथ्था थाविसिनको उत्तराधिकारीका रूपमा निर्वाचित गरेको थियो। थाविसिनलाई मन्त्रिपरिषद् नियुक्ति नियम उल्लङ्घन गरेको ठहर गर्दै अदालतले पदच्युत गरेको थियो।

शिनावात्रा परिवारले दशकौँदेखि थाई राजनीतिमा बलियो उपस्थिति जमाउँदै आएको छ। पेतोङतार्नको पदच्युतिलाई यस शक्तिशाली राजनीतिक परिवारका लागि ठूलो धक्का मानिएको छ।