मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कियो, असन्तुष्ट दलका कार्यकर्ताबाट तोडफोड र कर्मचारीमाथि कुटपिट

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद हिंसात्मक बन्दै गएको छ। असन्तुष्ट दलका नेता–कार्यकर्ताहरूले शनिबार बिहान प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गर्दै त्यहाँ कार्यरत कर्मचारीमाथि समेत कुटपिट गरेका छन्।

एक भिडियोमा देखिए अनुसार, मुख्यमन्त्रीको कार्यकक्षमा रहेका एक पुरुष कर्मचारीले फाइल जोगाउने प्रयास गर्दा प्रदर्शनकारी भिडले उनलाई घेराउ गरी कुटपिट गरेको छ। भिडबाट उनको टाउकोमा मुक्का प्रहार गरिएको र फाइल भुइँमा खसालेपछि उनका सहकर्मीले उनलाई मुश्किलले कोठाबाहिर निकाल्ने दृश्य भिडियोमा कैद भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको रूपमा नियुक्ति र शपथ दिलाएपछि प्रदेशको राजनीतिक अवस्था तनावपूर्ण बनेको हो।

आज बिहानै असन्तुष्ट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सांसद र कार्यकर्ताहरू मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गरी तोडफोडमा उत्रिएका थिए। उनीहरूले कार्यालयमा रहेका झण्डा र कागजात समेत फ्याँकेका छन्। मधेश भवन अगाडि टायर बाल्दै प्रदर्शनसमेत गरिएको छ।

प्रदेश प्रमुख भण्डारीले बिहान करिब ४ बजे बिरामी भएको भन्दै काठमाडौं प्रस्थान गर्ने तयारी गरेको बताएकी थिइन्। तर त्यसको केही घण्टामै महोत्तरीको बर्दिबास–३, कालापानीस्थित होटल पानसमा पुगेर उनले एमाले नेता यादवलाई मुख्यमन्त्रीको शपथ दिलाएकी थिइन्।

यस घटनाले मधेश प्रदेशको राजनीतिक वृतमा ठूलो तरंग ल्याएको छ। निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख भण्डारीमाथि “मधेशको अस्मिता लुटेको” आरोप लगाएका छन्।

त्यस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यो घटनालाई मधेशको “स्वायत्तताको ऐतिहासिक अवसर”का रूपमा चित्रण गर्दै मधेश प्रदेशसभाको बैठक सडकमा नै डाकेर भए पनि प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति विवाद झन् जटिल बन्दै गएपछि प्रदेशको प्रशासनिक कामकाज ठप्प भएको छ भने सुरक्षा निकाय उच्च सतर्कतामा राखिएको छ।