मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

लगातार घट्दै सुनको भाउ, चाँदीमा भने उकालो

तिहार बिदापछि सुनको मूल्य लगातार घट्दै गएको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि सुनको मूल्य ओरालो लाग्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको भाउ घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार र मंगलबार पनि घटेको थियो ।

त्यस्तै, आज सुन तोलामा सात सय रुपैयाँले घटेर दुई लाख ३६ हजार तीन सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

तर, चाँदीको मूल्य भने आज बढेको छ । हिजो तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार नौ सय ६५ रुपैयाँमा पुगेको छ । हिजोको तुलनामा चाँदीमा तोलामा ४५ रुपैयाँले वृद्धि भएको हो ।

गएको असोज ३१ गते सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो । त्यसदिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ र चाँदी तोलाको तीन हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्यमा हुने यस्तो उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको परिवर्तनसँग सम्बन्धित रहेको महासंघले जनाएको छ ।