मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

भियतनाममा भारी वर्षा र बाढीपहिरोका कारण ९० जनाको ज्यान गयो, करोडौंको क्षति

भियतनाममा पछिल्ला केही दिनदेखि भएको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन्।

भियतनामी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो प्राकृतिक प्रकोपले देशभर १ लाख ८६ हजार घरमा क्षति पुगेको छ र ३० लाखभन्दा धेरै पशुचौपाया बगेका छन्। यसबाट करोडौं पाउन्ड बराबरको क्षति भएको अनुमान गरिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार पहाडी प्रान्त डाक लाक नराम्ररी प्रभावित भएको छ, जहाँ नोभेम्बर १६ यता ६० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

चरम मौसमी घटनाको सामना:

केही हप्ताको अन्तरालमा आएका कालमेगी र बुआलोई आँधीका कारण भियतनामले अहिले सबैभन्दा ठूलो चरम मौसमी घटनाको सामाना गरिरहेको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा राहत तथा सहयोगका लागि सैन्य र प्रहरी स्रोतहरू परिचालन गरिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भियतनाममा यस्ता चरम मौसमी घटनाहरूको जोखिम बढिरहेको बताएका छन्।