पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर फेरि सञ्चालनमा आएको छ। कालीगण्डकी गाउँपालिका–२, राक्सेमा आज बिहान सडक माथिबाट पहिरो खसेपछि करिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो।
सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो। सडक खुलेसँगै बिहानैदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
पानी पर्दा कालीगण्डकी करिडोर पटक–पटक अवरुद्ध हुने समस्या रहँदै आएको छ।
यद्यपि, गुल्मीको रिडी–वामीटक्सार सडक भने अझै खुल्न सकेको छैन। सत्यवती गाउँपालिका–६, डहरे खोलामा लेदो र बाढी पसेपछि सडक आवतजावत अवरुद्ध भएको हो।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पानीका कारण जोखिम बढेको भन्दै सतर्कता अपनाउन तथा सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
