अगष्ट ११, २०२५ मा दिल्लीमा विपक्षी दलका नेताहरूले निर्वाचन आयोगको कार्यालयसम्म विरोध मार्च गरेका थिए। यस विरोध कार्यक्रममा कांग्रेसका राहुल गांधी, प्रियंका गांधी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, तृणमूल कांग्रेसकी सागरिका घोष, शिवसेना (यूबीटी) का संजय राउतलगायत करिब ३०० सांसदहरू सहभागी थिए।
यो मार्च बिहारमा विशेष गहिरो पुनरावलोकन (SIR) अन्तर्गत मतदाता सूचीमा गडबडी भएको र २०२४ को लोकसभा चुनावमा मत चोरी भएको आरोप विरुद्धको विरोध स्वरूप आयोजना गरिएको थियो।
विरोध प्रदर्शन रोक्न दिल्ली प्रहरीले ब्यारेकेड लगाएको थियो। अखिलेश यादवले ती ब्यारेकेड उफ्रिएर प्रदर्शनलाई अगाडि बढाए। यस क्रममा राहुल गांधी, प्रियंका गांधी लगायतका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ट्रान्सपोर्ट भवन नजिकबाट पक्राउ गर्यो।
राहुल गांधीले भने, “यो राजनीतिक लडाइँ होइन, यो संविधान र ‘एक व्यक्ति–एक मत’ को अधिकारको रक्षा हो।”
विरोध प्रदर्शनमा तृणमूल कांग्रेसका सांसद महुआ मोइत्रा र मिताली बाग पनि सहभागी थिइन्, जसलाई तातो र तनावका कारण बेहोस हुने अवस्था आयो। उनीहरूलाई प्राथमिक उपचार दिइयो र मिताली बागलाई अस्पताल भर्ना गरियो।
यो प्रदर्शनले निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै आगामी चुनावमा मतदाता सूची शुद्ध पार्न माग गरियो। प्रहरीले भने, विरोध प्रदर्शनको अनुमति नलिई गरिएकोले सुरक्षा कारणले नेताहरूलाई रोकेको जनाएको छ।
