नेपालको शेयर बजार आज उल्लेख्य अङ्कले बढेको छ।
नेप्से परिसूचक आज ६२ दशमलव २९ अङ्कले बढेर २,५७१.३४ विन्दुमा पुगेको छ।
आजको कारोबारमा व्यापार बाहेक सबै समूहको शेयर मूल्य वृद्धि भएको छ।
सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ दशमलव ४७ प्रतिशतले बढेको छ भने फाइनान्स, जलविद्युत्, लगानी र जीवन बीमा समूहका शेयरहरू पनि ३ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
कम्पनीगत रूपमा हेर्दा, न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल विकास बैंकका शेयरहरू १० प्रतिशतले बढेका छन्।
तर बजार उच्च अङ्कले उकालो लागेको दिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै ६ दशमलव ५ प्रतिशतले घटेको छ।
आज नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।
अस्ति आइतबार २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा, आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा लगानीकर्ताको मनोबल सुधारिँदै गएको र बजारमा तरलता सहज हुन थालेका कारण नेप्सेमा सुधार देखिएको हो।
