मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले टोखाको पहिचान दिएको छ : नगरप्रमुख अधिकारी

काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको पहिचान ग्राण्डी अस्पतालले दिएको बताउनुभएको छ ।

काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको दशौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँ ग्राण्डी अस्पतालले टोखालाई अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान दिएको बताउनुभएको हो ।

“टोखाभित्र ग्राण्डी अस्पताल भएकोमा नगरपालिकाले गौरवको महसुस गरेको छ, टोखालाई राष्ट्रिय स्तरसम्म नभई अन्तर्राष्ट्रिय स्तरसम्म ग्राण्डीले चिनाएको छ,”–उहाँले भन्नुभयो ।

टोखालाई पहिचान दिन ग्राण्डीले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाई थियो । उहाँले नगरपालिकाको प्रमुख लक्ष्य टोखालाई समुन्नत र समृद्ध बनाउने रहेको बताउँदै सबै मिलेर टोखाको गरिमा बढाउन लाग्नुपर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाका विरामी उपचारका लागि अन्य अस्पतालमा जानुपर्ने वाध्यता अन्त्य गर्दै ग्राण्डीमा नै उपचारका व्यवस्था मिलाउन नगरपालिकाले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

केही दिन अगाडि ६० वर्ष कटेका ज्येष्ठ नागरिकलाई लक्षित गरी ‘मेयर दिर्घायु स्वास्थ्यपरिक्षण कार्यक्रम’ सुरु गरेको टोखाले आर्थिक अवस्था कमजोर भएका ५० वर्षभन्दा बढी उमेरका नागरिकलाई निःशुल्क प्रेसर तथा सुगरको औषधी प्रदान गर्न ‘मेयरसँग दिर्घरोगी कार्यक्रम’ सञ्चालन गर्न लागेको छ ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो ।

“नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालनमा ल्याएका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो,”–उहाँले भन्नुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले नेपालको नमूना अस्पताल बनाउने लक्ष्यका साथ ग्राण्डीले विरामीलाई सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । बिरामीको खुसी नै अस्पतालको खुसी भएकाले बिरामीलाई खुसी बनाउने गरी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उहाँको भनाई छ ।

ग्राण्डीले सन् २०२२ मा एक लाख २३ हजार ४२४ जनालाई ओपिडि सेवा र ७ हजार १२८ जनालाई भर्ना गरेर उपचार प्रदान गरिएको सो अस्पतालले जनाएको छ । निजी क्षेत्रको लगानीमा विस २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न ३० भन्दा बढी विधामा बिरामीको उपचार गराउँदै आएको छ । ‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ स्थापना भएको ग्राण्डीले हाल एक हजार व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्क्षय रूपमा रोजगारी प्रदान गर्दै आएको छ । २८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले २०९ शैयामार्फत बिरामीको उपचार गर्दै आएको छ । अस्पतालको दशौँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने तथा १० वर्ष सेवा गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।