इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। महाकालीको भुजेलाघाटमा सम्पन्न अन्त्येष्टि समारोहमा सशस्त्र प्रहरीले जोशीलाई सलामी अर्पण गरेको थियो।
विपिनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइपुर्याइएको थियो। त्यसपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित उनको घरमा पुर्याइएको थियो। शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी पनि विपिनको घरसम्म पुगेका थिए। राति ढिलो घरमा शव ल्याइएकाले मंगलबार बिहान शवयात्रासहित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो।
दुई वर्षअघि अध्ययनका क्रममा इजरायल गएका विपिन जोशीको हमास लडाकुहरूको नियन्त्रणमा परेपछि हत्या भएको पुष्टि भएको हो। सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका विपिन इजरायल पुगेको करिब एक महिनापछि, सन् २०२३ अक्टोबर ७ मा, हमास लडाकुहरूको आक्रमणमा परेका थिए।
उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई बन्धक बनाइएको थियो। दुई वर्षसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन। तर, हालै इजरायल–हमासबीच भएको युद्धविरामपछि बन्धकहरूको अवस्थाबारे खोजी गर्ने क्रममा गत असोज २८ गते इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या भएको पुष्टि गरेको थियो।
नेपालस्थित इजरायली दूतावासमार्फत पठाइएको फरेन्सिक रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली प्रहार हुँदा मृत्यु भएको उल्लेख छ।
तिहारको समयमा विपिनको शव घर आइपुग्दा जोशी परिवारमा शोक छाएको छ। “बहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसँग भेट हुने आशामा थिइन्,” परिवारका सदस्य किशोर जोशीले भने, “तर लक्ष्मीपूजाको दिन दाजुको शव आँगनमा आइपुग्दा पूरा परिवार शोकमा डुब्यो।”
परिवारका अनुसार दाजुको निधनको आधिकारिक खबर पाएपछि बहिनी पुष्पाले टीकाको तयारीका लागि राखिएका सयपत्री फूल उखेलेकी थिइन्।
विपिन जोशीप्रति देशभरका विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ।