पर्साको वीरगञ्ज महानगरपालिकामा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ११५ जनामा हैजा पुष्टि भइसकेको छ।
गएको शुक्रबारयता वीरगञ्जमा झाडापखालाका लक्षण देखिएका ४९३ बिरामी अस्पतालमा भर्ना भएका थिए। तीमध्ये ११५ जनामा हैजा पुष्टि भएको हो। हिजो बेलुकी ६ बजेपछि थप १ जनामा रोग देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
हालसम्म उपचारपछि ३९ जना डिस्चार्ज भइसकेका छन् भने ७६ जना विभिन्न अस्पतालमा उपचाररत छन्। हैजा सङ्क्रमितसहित हाल २६६ जना बिरामी अस्पतालमा उपचार गराइरहेका छन्।
यस्तो अवस्थामा स्थानीय तहदेखि संघीय सरकारसम्मको प्रभावकारी पहल अभाव देखिएको छ। सुरक्षित खानेपानी र सरसफाइको स्थायी समाधानमा ध्यान नदिँदा प्रत्येक वर्षजस्तै यसपालि पनि वीरगञ्ज हैजाको उच्च जोखिममा परेको छ। स्वास्थ्य सरोकारवाला निकायहरूले आपत्कालीन उपचारमा मात्र ध्यान दिने तर दीर्घकालीन रणनीति बनाउन बेवास्ता गर्ने प्रवृत्तिले रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको हो।
