संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकायहरूको नियन्त्रण बाहिर गएपछि प्रमुख राजनीतिक दलका नेता र उनका पार्टी कार्यालयमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास र प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पनि आगजनी भएको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घरमा तोडफोड गरिएको छ। मन्त्रीहरूको निवासमा पनि प्रदर्शनकारीको लक्षित आक्रमण भएको छ; भैंसेपाटीमा रहेको मन्त्री निवासमा आगो लागेको छ भने परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित घरमा तोडफोड र आगजनी भएको छ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठी निवास, ऊर्जा मन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवास, कांग्रेस महामन्त्री गगन थापाको रातोपुल स्थित घर, एमाले सचिव रघुविर महासेठको घर, साथै एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड र आगजनीका घटनाहरू भएका छन्।
हाल सुरक्षाकर्मीहरूले प्रभावित नेताहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन्।
