दशैँ, तिहार र छठलगायत चाडपर्वको लामो बिदामा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लाका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। पर्यटकहरूको भीडसँगै ती क्षेत्रमा रहेका होटलहरू भरिभराउ बनेका छन् भने होटल सञ्चालकहरू उत्साहित भएका छन्।
होटलहरूमा पर्यटकको चाप बढेसँगै आवास व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीदेखि विदेशबाट चाडपर्व मनाउन फर्किएकासम्मका लागि मुस्ताङ र अन्नपूर्ण आधार शिविर प्रमुख गन्तव्य बनेका छन्।
आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा मुस्ताङको मुक्तिनाथ दर्शन अग्रस्थानमा रहेको छ। मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँ भ्रमण गर्ने गर्छन्।
प्रत्येक वर्ष ८ लाखभन्दा बढी आन्तरिक र १.५ लाखभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भ्रमण गर्न पुग्ने गरेका छन्।
त्यस्तै, छोटो अवधिमा साहसिक यात्राको अनुभव लिन चाहनेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर (ABC) पुग्ने गरेका छन्।
फुतफुते झरना र निलो पञ्चकुण्ड ताल हुँदै ४,१९० मिटर उचाइमा रहेको यो गन्तव्य तीन दिनमै पुग्न सकिन्छ।
निलगिरि र अन्नपूर्ण हिमालको फेदमा रहेको अन्नपूर्ण आधार शिविर अहिले नयाँ पर्यटकीय आकर्षणका रूपमा चर्चित बनेको छ।
म्याग्दी हुँदै सडक मार्गबाट दैनिक ८ हजारभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेका छन् भने ५ सयभन्दा बढी पर्यटक दैनिक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्।
