स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका फरार एक अभियुक्त ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। उनी सिन्धुलीको दुधौली निवासी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरेको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। बम्जन कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मामिलामा संलग्न रहेको आरोपमा यसअघि प्रहरी हिरासतमा थिए।
तर, **‘जेनजी आन्दोलन’**का क्रममा उनी हिरासतबाट फरार भएका थिए। प्रहरीका अनुसार, बम्जन स्वर्णलक्ष्मी सहकारीका प्रमुख अभियुक्त जीबी राईका जेठान हुन्।
बम्जन यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेको खुलेको छ। उक्त मुद्दामा अदालतको आदेशपछि उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
