काठमाडौं । सितारवादक तथा सांस्कृतिक संस्थानका राष्ट्रिय कलाकार सीतामैयाँ राजचलले तयार पारेको राष्ट्रियगानको धुनसहितको भिडियो सामग्री सार्वजनिक गरिएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अनुमतिमा सितारवादनको अर्केष्ट्रामा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको संगीत संयोजनमा तयार गरेको धुनलाई १०औँ आईसीटी अवार्डको अवसरमा सार्वजनिक गरिएको हो ।
राजचललाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनले ‘विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादकको सूचीमा सूचीकृत गरेको थियो । वरिष्ठ संस्कृतिविद एवं शताब्दी पुरुष स्व. डा. सत्य मोहन जोशी र वर्ल्ड बुक अफ रेकर्डका पदाधिकारीहरूले ७ अप्रिल २०१९ मा राजचललाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
देश विदेशका विभिन्न स्थानमा सितारवादनमा आफ्ना प्रस्तुतिहरू दिइसकेकी सितारवादक सीतामैयाँ राजचल विभिन्न सम्मानबाट पनि सम्मानित छिन् । करिब तीन दशकदेखि गीत संगीतको क्षेत्रमा रहेकी सीतामैया २०५४ देखि व्यावसायिक रूपमा सितार वादनको कार्यमा सक्रिय छिन् ।
