थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रमा पुनः झडप सुरु भएको छ। मलेसियामा प्रस्तावित शान्ति वार्ताअघि नै दुवै देशबीचको तनाव चर्किएको अल जजिराले जनाएको छ।
गत डिसेम्बर ८ देखि पुनः तीव्र बनेको यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा ४० जनाको ज्यान गएको छ भने दुवै देशका करिब १० लाख नागरिक विस्थापित भएका छन्। सीमावर्ती क्षेत्रमा भारी हतियारको प्रयोग भएको र आवासीय घरहरूमा क्षति पुगेको रिपोर्ट गरिएको छ।
कम्बोडियाले थाइल्यान्डले एफ–१६ लडाकु विमान प्रयोग गरी बान्तेय मेन्चे प्रान्तमा बम प्रहार गरेको तथा विषालु ग्याससमेत प्रयोग गरेको आरोप लगाएको छ। तर थाइल्यान्डले आफू आक्रमणकारी नभएको दाबी गर्दै उक्त आरोप अस्वीकार गरेको छ।
यसैबीच, मलेसियाको राजधानी क्वालालम्पुरमा हुने आसियान बैठकमा दुवै देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। बैठकमा युद्धविराम कार्यान्वयन, सीमावर्ती तनाव न्यूनीकरण र मानवीय संकट समाधानका उपायबारे छलफल हुने बताइएको छ।
