मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सार्वजनिक गाडी सञ्चालन सामान्यतर्फ, जनजीवन सहज बन्दै

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्थानीय प्रशासनसँग समन्वय गरी सार्वजनिक गाडी चलाउन आग्रह गरेको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्र सरकारले सार्वजनिक यातायात सञ्चालनबारे अझै औपचारिक निर्णय नपठाएको बताए पनि, सम्बन्धित निकाय र सरोकारवालालाई प्रशासनसँग समन्वय गरेर गाडी सञ्चालन गर्न भनिएको जानकारी दिएका छन्।

उनका अनुसार, गाडी सहज सञ्चालनका लागि महासङ्घ आवश्यक छलफलमा सक्रिय छ। यसअघि महासङ्घले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा गाडी नचलाउन मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो।

गत सोमबारयता ठप्प रहेका सार्वजनिक गाडी हिजोबाट आंशिक रूपमा सञ्चालनमा आएका छन्। काठमाडौंको नयाँ बसपार्कबाट उपत्यका बाहिरिने गाडीहरू चल्न थालेका छन् भने उपत्यकाभित्र पनि छिटपुट रूपमा गाडी सञ्चालन भएको छ। आज हिजोको तुलनामा थप गाडी सञ्चालनमा आएका छन्। नयाँ सरकार गठनसँगै जनजीवन सामान्यतर्फ फर्किरहेको देखिएको छ।

काठमाडौं उपत्यकासहित देशभरकै जनजीवन सहज बन्दै गएको छ। जेन–जी आन्दोलन र असहज अवस्थापछि विभिन्न क्षेत्रमा लागू कर्फ्यु र निषेधाज्ञा अधिकांश ठाउँमा हटाइएको छ। काठमाडौंमा आज कुनै कर्फ्यु वा निषेधाज्ञा छैन भने ललितपुर र भक्तपुरमा भने स्थानीय प्रशासनले आवश्यकताको आधारमा समय तोकेर आदेश जारी गर्ने बताएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले विस्तारै जनजीवन सहज बन्दै गएको र त्यसैअनुसार निर्णय आउने जानकारी दिए। चितवन जिल्ला प्रशासनले आज बिहानैदेखि निषेधाज्ञा र कर्फ्यु पूर्ण रूपमा हटाएको छ। अन्य क्षेत्रमा पनि सुरक्षा अवस्था सामान्य रहेको जनाइएको छ।

हाल सडकमा नेपाली सेना छैनन्, तर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले सुरक्षा व्यवस्थापन सम्हालिरहेका छन्। पसल, होटललगायतका व्यवसाय खुल्न थालेका छन् भने सर्वसाधारणको चहलपहल बढ्दै गएको छ।

गएराति सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएपछि आज बिहानदेखि अवस्था थप सामान्य देखिएको हो। सरकारको निर्णयअनुसार आउँदो फागुन २१ गते चुनाव हुने घोषणा गरिएको छ। तर तीन ठूला राजनीतिक दलहरूले संसद विघटनको विरोध जनाएका छन्।