मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

गाजामा पत्रकारको हत्या प्रति संयुक्त राष्ट्रसङ्घको कडा आपत्ति

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजामा इजरायली आक्रमणमा पाँच जना पत्रकार मारिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनको संज्ञा दिँदै तत्काल छानबिनको माग गरेको छ।

बीबीसीका अनुसार विभिन्न देशहरू, मानवअधिकार संस्था र पत्रकार सङ्गठनहरूले समेत यस घटनालाई पत्रकारमाथिको "लक्षित हत्या" भएको टिप्पणी गरेका छन्।

गत आइतवार इजरायली हवाई आक्रमणमा अल जजिराका पाँच पत्रकारसहित आठ जनाको मृत्यु भएको थियो। मारिनेमा चर्चित पत्रकार अनस अल–शरीफ, मोहम्मद क्रीकेह, इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवा रहेका छन्। साथै, पत्रकार मोहम्मद अल–खाल्दी र एक अन्य व्यक्ति पनि ज्यान गुमाएका छन्।

पत्रकार सुरक्षा निकायका अनुसार, सन् २०२३ को अक्टोबरदेखि हालसम्म गाजामा कम्तीमा १८६ पत्रकार मारिएका छन्।

यसैबीच, गाजामा गएको २४ घण्टाभित्र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको छ, जसमा एक बालक पनि छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या २२२ पुगेको छ। संयुक्त राष्ट्रसङ्घले अत्यन्तै सीमित मात्रामा सहायता गाजामा प्रवेश गर्न पाएको र अहिले भोकमरीको अवस्था अति भयावह भएको चेतावनी दिएको छ।

इजरायलले भने गाजामा भोकमरी नभएको दाबी गर्दै सहायता वितरणमा ढिलाइ भएको आरोप संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई लगाउँदै आएको छ।