मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

विश्व ताल दिवस : संरक्षण र दिगोपनाप्रति गम्भीर प्रश्न

विश्वका विभिन्न देशहरूमा आज पहिलोपटक विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको गत वर्षको महासभामा प्रस्ताव पारित भएसँगै यस वर्षदेखि आधिकारिक रूपमा दिवस मनाउन थालिएको हो ।

यस दिवसको उद्देश्य विभिन्न संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र शैक्षिक अभियन्तालाई तालको महत्त्वबारे सचेत गराउँदै संरक्षण र पुनःस्थापना अभियानलाई सशक्त बनाउनु हो । तर यस्ता दिवस मनाउने मात्रै परम्परा कायम रहँदा वास्तविक संरक्षणको परिणाम भने कत्तिप्रभावकारी देखिएको छैन भन्ने आलोचना पनि उठ्न थालेको छ ।

संयुक्त राष्ट्रसङ्घका तथ्यांकअनुसार पृथ्वीमा करिब ११ करोड ७० लाख ताल रहेका छन्, जसले विश्वको करिब चार प्रतिशत भूभाग ओगटेका छन् । तर प्रदूषण, प्लास्टिक फोहोर, र ‘मिथेन’ उत्सर्जनका कारण ती तालहरू द्रुत गतिमा नष्ट हुँदै गएका छन् । ताजा पानीका स्रोतहरू घट्दै गएको वर्तमान परिप्रेक्ष्यमा ताल दिवसको महत्व अझ बढेको हो ।

तालहरूले जैविक विविधता कायम राख्न, हावापानी सन्तुलन गर्न र पानीको स्रोत सुरक्षित गर्न महत्त्वपूर्ण योगदान दिएका छन् । तर जलवायु परिवर्तन र तापक्रम वृद्धिले धेरै तालहरू सुक्ने अवस्थामा पुगेका छन् भने हिमनदी पग्लने दर पनि तीव्र बन्दै गएको छ ।

यस्ता तथ्यहरूले केवल दिवस मनाएर मात्र नहुने, ठोस नीति, दिगो व्यवस्थापन र स्थानीय समुदायको सक्रिय सहभागिता बिना ताल संरक्षण सम्भव छैन भन्ने प्रश्नलाई झन् गम्भीर बनाएको छ ।