काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित एक घरमा लुकाएर राखिएको ठूलो मात्राको रकम प्रहरीले बरामद गरेको छ। मंगलबार साँझ प्रहरीको टोलीले गरेको छापामारीमा बरामद नगद चार करोड २५ लाख रुपैयाँ रहेको पुष्टि भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी शेखर खनालका अनुसार रकम गणना गर्न बैंकबाट मेसिन मगाइएपछि उक्त तथ्य खुल्न आएको हो।
यस्तै, प्रहरीले ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ ग्राम चाँदीका गरगहना पनि बरामद गरेको छ।
सो प्रकरणमा प्रहरीले गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ।
एसएसपी खनालका अनुसार, “प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी भएको देखिन्छ। सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको तथ्य पनि भेटिएको छ।”
अवैध रूपमा ठूलो मात्रामा रकम लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको र त्यस क्रममा घरधनी श्रेष्ठलाई पक्राउ गरिएको हो। बरामद गरिएको नगद, सुनचाँदी र पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
