तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (कात्तिक ९ गते) का लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
तिहारअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । सोही आधारमा तिहारपछि सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार तिहारअघि अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा गिरावट आएको थियो । कात्तिक ४ गतेसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिऔंस ४१११ अमेरिकी डलरमा झरेको थियो । असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको मूल्य पछिल्लो समय घट्दै आएको हो । (एक औंस बराबर २.४३ तोला हुन्छ।)
नेपालमा भने सार्वजनिक विदाका कारण मूल्य समायोजन तत्काल गर्न नसकिएको महासंघले जनाएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यको प्रभाव तिहारपछि आइतबार मात्रै देखिएको हो ।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घट्ने क्रममा अहिले सुनको मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँमा झरेको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ, जुन तिहारअघि ३ हजार २८० रुपैयाँ थियो । यसरी चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले घटेको हो । असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती र विश्वव्यापी मौद्रिक नीतिका कारण सुन–चाँदी दुवैको मूल्यमा हालसालै गिरावट आएको हो ।