हिजो सामान्य रूपमा घटेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव २४ विन्दुमा झरेको छ।
आज सबै समूहको शेयरमा गिरावट आएको छ, जसमा फाइनान्स समूहको शेयर सबैभन्दा बढी २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ। आज २ सय १३ वटा कम्पनीको शेयर घटेको, ३४ वटा कम्पनीको बढेको र ३ कम्पनीको शेयर स्थिर रहेको छ।
आजको कारोबारमा मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने बजार समग्रमा कमजोर हुँदा पनि माबिलुङ इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
बजार सूचकसँगै कारोबार रकम पनि घटेको छ। हिजो ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ३ लाख कित्ता शेयर जम्मा ५ अर्ब १५ करोड रुपैयाँमा किनबेच भएको छ।
बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ भने बजार निकट भविष्यमै सन्तुलनमा फर्किने अपेक्षा गरिएको छ।
