मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

पोखरामा ८८ करोडभन्दा बढी सहकारी रकम हिनामिनाको आरोपमा अध्यक्षसहित सात जना पक्राउ

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना सहकारी पदाधिकारी पक्राउ परेका छन्। सहकारीको करोडौँ रुपैयाँ हिनामिनाको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई बुधबार बिहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अध्यक्ष गोदारसँगै व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर तथा मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष हिरामणि दाहाललगायत अन्य दुई जना रहेका छन्।

सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले व्यक्तिगत स्वार्थमा ८८ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ। सो नतिजा सार्वजनिक भएपछि रजिस्ट्रार कार्यालयको पत्रका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानमा सहकारीभित्र काल्पनिक खाताहरू खोली रकम अपचलन गरिएको, ऋणका नाममा अनियमित निकासी गरिएको, सहकारी ऐन विपरीत संस्थाको कोष व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको र सञ्चालक समितिका पदाधिकारीका नाममा ऋणीको सम्पत्ति ल्याई हिनामिना गरिएको लगायतका कार्यहरू गरिएको खुलेको छ।

प्रहरीले अहिले पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान अघि बढाएको छ।